भिजिट भिसामा आई समस्यामा परेका नेपालीको सहजीकरण गर्न यूएई सहमत

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले भिजिट भिसामा पुगेर अलपत्र परेका नेपाली नागरिकको समस्या समाधान गर्न सहमति जनाएको छ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएइको हो । राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गरे । भेटवार्ताका क्रममा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको हो । रोजगारीको प्रलोभन देखाइ भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टलाई कारवाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ।

मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ती उत्पादनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए। उनीहरूबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमा, पारिश्रमिक वृद्धि लगायतका विषयमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ ।