काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किए । उनी शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको विशेष विमान चढेर दिल्ली फर्किएका हुन् । उनी बुधबार काठमाडौं आएका थिए ।
बुधबार काठमाडौं ओर्लिएर होटेलमा पुगेपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका थिए । बिहीबार भने उनी सैन्य गतिविधि मै व्यस्त रहे । उक्त दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिएका थिए ।
भ्रमणको अन्तिम दिन समेत उनले भ्रमणलाई रोमाञ्चक बनाउन कुनै कसुर बाँकि राखेनन् । किनकी शुक्रबार उनी सगरमाथा क्षेत्रमा माउण्टेन फ्लाइटमा पुगे । सोलखुम्बु मै खाना खाए ।
त्यसपछि काठमाडौं फर्किएका उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरे । भेटमा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरे ।