भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग

A Colombian soldier deployed in Cucuta, keeps watch from a military vehicle at the border crossing with neighbouring Venezuela, on January 3, 2026, after US forces captured Venezuelan leader Nicolas Maduro after launching a "large scale strike" on the South American country. (Photo by Schneyder MENDOZA / AFP)

काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन् । उनले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गरे ।


उनले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताए । यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गरे । स्पेनी भाषामा बोल्दै लोपेजले भेनेजुएलामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको सामना गर्न सर्वसाधारणलाई एकजुट हुन आह्वान गरेका छन् । उनले भेनेजुएलाले सबै सशस्त्र सेना परिचालन गर्ने मदुरोको आदेशलाई पालना गरिरहेको बताए ।


“उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर उनीसँग हामी झुक्ने छैनौँ,” रक्षामन्त्री लोपेजले भने । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, शहरको मुटुमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन्। दुवै ठाउँमा भएका विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ट्रम्प प्रशासनले हप्तौँदेखि दबाब दिएपछि यो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन् । अमेरिकी हवार्य हमलापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्नुभएको थियो भने राष्ट्रिय आपतकाल घोषणा गरेका थिए ।


भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका थिए । भेनेजुएलाको राजधानी काराकासका कैयौँ क्षेत्रमा एकैपटक विस्फोटको आवाज सुनिएको थियो। विस्फोट भएका क्षेत्रमा सैन्य अखडा पनि रहेका छन् ।