भेरोसेल खोप पत्रिकामा बेरेर काठमाडौंका घरघरमा ?

Photo : Vishwanews

काठमाडौं । सामान्यतया २ देखि ८ डिग्री सेल्सियस तापक्रम कायम गरि निश्चित समय भित्र लगाइसक्नु पर्ने चिनियाँ खोप भेरोसिलको काठमाडौं उपत्यकामा असुरक्षित तरिकाले चुवावट हुने गरेको फेला परेको छ । काठमाडौंमा भेरोसिल खोप पत्रिकाले बेरेर प्लास्टिकको झोला भित्र केही टुक्रा आईसभित्र राखेर लगाउन हिँडेको विश्व न्युजले फेला पारेको छ । काठमाडौंको जिल्लाका एक प्राबिधिकले आफु खोप लगाउनु पर्ने प्राथमिकतामा रहेको भन्दै स्वास्थ्य मन्त्रालयबाटै खोप ल्याएको स्वीकार गरे । नाम नबताउने शर्तमा उनले यो तथ्यको खुलासा गरेका हुन् ।

उनी जस्तै धेरै प्राबिधिक तथा औषधी व्यवसायीले यसैगरि खोप चुवाहट गरेको उनी स्वीकार गर्छन् ।आफुले यसैगरी ५० जना जतिलाई खोप लगाएको उनले जानकारी दिए । यसरी खोप लगाउनेमा आफ्नो चिनजानका रहेको उनको भनाई छ । यसरी चुहावट भएको खोप कतिपय औषधी व्यवसायीले समेत लगाउने गरेको आफ्नो जानकारीमा रहेको उनले बताए ।


अहिले नेपालमा खोप अभियान चलिरहेको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । चीनबाट सरकारले खरीद गरि ल्याएको पछिल्लो खोप काठमाडौं उपत्यकामा केही दिनमै सकिएको भन्दै अभियान बन्द गरिएको थियो । तर, औषधी पसलेहरु र प्राबिधिकहरुले भने स्वास्थ्य मन्त्रालयबाटै र कती पय खोप केन्द्रबाट ल्याएर सामान्य मापदण्ड समेत पुरा नगरी लगाउने गरेको खुलेको हो ।

पालो कुर्दा सकिएको खोप झोलामा कसरी ?

काठमाडौं उपत्यकासहित देशभर सबै नागरिकले खोप सजिलै पाउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडी एक विज्ञप्ती निकालेको थियो । मन्त्रालयले उपत्यकामा छुट्याइएको कोटा सकिएको भन्दै छिट्टै थप खोप आउने बताएको थियो । तर, विश्व न्यूजले सोमबार नै खोप वितरण गरिरहेको अवस्थामा फेला पारेको छ । यस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रतिक्रिया माग्दा भने मन्त्रालयका अधिकारीले अनविज्ञता प्रकट गरेका छन् ।

Photo : Vishwanews

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले कुनै पनि पसलमा खोप बेचविखन गर्न नपाइने बताउँछन् । उनी भन्छन्, हल्लाहरु धेरै आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा सचेतना जगाउने गरी भिडियो नै बनाएको छ । त्यस्तो पाइएमा तत्काल स्वास्थ्य मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेका छौँ । मन्त्रालयको फेसबुकपेजमा पनि अवैधरुपमा बेचबिचन भएमा कारबाही हुने र लुकाइछिपाई गरेर बजारमा बेच्न राखेका खोप नक्कली हुनसक्ने सन्देश राखिएको छ । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

Photo : Vishwanews


कहाँ पुग्यो नेपालमा खोप अभियान ?

नेपाल आफै खोप उत्पादक मुलुक होइन । सोहीकारण उसले अन्य मुलुकसँग खोपमा भर पर्नु परेको छ । नेपाललाई भारतले पहिलो पटक १० लाख डोज कोभिसिल्ड अनुदानमा दिएको थियो । भारतबाट नेपाली सेनाका लागि थप एक लाख डोज खोप समेत अनुदानमा आएको थियो । त्यसपछि नेपाल सरकारले २० लाख डोज खरीद गर्न भारतलाई रकम दियो । भारतबाट खरीद गरेको १० लाख डोज खोप डेलिभरी भएपछि भारतबाट थप खोप आएन । त्यसबीचमा कोभ्याक्स कार्यक्रममार्फत ३ लाख डोज खोप नेपाल आएको थियो ।

यो खोप करीव २१ लाख मानिसलाई पहिलो डोज लगाइएको थियो । त्यसमध्ये करीव १४ लाख जेष्ठ नागरिकले कोभिशिल्डको दोस्रो डोज लगाउनबाट बन्चित छन् । भारतबाट खोप आउन नपाएपछि सरकारले चीनतर्फ पहल थाल्यो शुरुमा १० लाख डोज खोप अनुदानमा दिएको चीनले ४० लाख डोज खोप बिक्रि गरेको छ । ४० लाखमध्ये पहिलो चरणमा ८ लाख डोज आएपछि सरकारले खोप अभियान चलाएको हो ।

पछिल्लो समय अमेरिकाबाट १५ लाख ४० हजार डोज खोप नेपाल आएको छ । सो खोप लगाउने कार्य सोमबारबाट शुरु भएको छ । चीनले थप १८ लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ । नेपाललाई जापानले समेत १६ लाख डोज खोप दिने बताएको छ । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाल पठाउन बाँकि रहेको खोप पठाउने आश्वासन दिएका छन् ।

खोप केन्द्रमा थामिनक्सनु भिड
सरकारले प्राथमिकतामा वितरण थालेको खोप प्राथमिकता भन्दा बाहिरका मानिसले पाउँदा वितरण अव्यवस्थित बनेको छ । सरकारले उमेर र पेशा अनुसार कोरोना बिरुद्धको भ्याक्सिन लगाउने बुथहरु तोके पनि अधिकांश बुथमा टोकन लिएर भ्याक्सिन लगाउन लाईन लाग्दा लाग्दै खोप सकिएको भन्दै फर्काउने गरिएको छ । उमेरको हद बन्दी तोकेर जेष्ठ नागरिकलाई खोप लगाउन तोकिएका बुथमा युवाहरु लाइनमा देखिएका छन् । खोप वितरणको अव्यवस्थित अवस्थाबारे धेरै गुनासो आएपछि सोमबार स्वयमः प्रधानमन्त्री शेर बहादुर देउवा खोप केन्द्रको अवलोकनमा निस्किए ।