काठमाडौं । पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट नेपाल आउनै पर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन् । यो सेवा लागू भएपछि पुनःश्रम स्वीकृति लिन विभागको कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
यसले विदेशमा काम गरिरहेका कामदार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको बताएको छ । अवको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति समेत अनलाइन मार्फत दिन सक्ने गरी योजना बनेको छ ।
वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्ने भएका छन् ।