मंगोलियाका राष्ट्रपति १४ दिन क्वारेन्टाइनमा

मंगोलिया । चीन भ्रमणबाट स्वदेश फर्किएपछि मंगोलियाका राष्ट्रपति बत्तुल्गा खालत्मालाई क्वारेन्टाइनमा राख्नु परेको छ ।

मंगोलियाको सरकारी समाचार संस्था मोन्टसेमले शुक्रबार यसको पुष्टी गरेको हो । राष्ट्रपति बत्तुल्गासहित चीनबाट फर्किएका सबै सरकारी अधिकारी अब १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

चीनमा क्रमशः कम हुँदै गएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय एसियाली अन्य मुलुकमा तिब्र रुपमा फैलिरहेको छ । यसले जापान, कोरिया, इरान, फिलिपिन्स, थाइल्याण्ड, मंगोलियालगायत मुलुकलाई प्रभावित बनाइरहेको छ ।

जनवरीमा चीनले कोभिड–१९ को प्रकोप रोक्न विशेष उपाय कार्यान्वयन गर्न सुरू गरेपछि बत्तुल्गा चीन भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख बनेका हुन्।

उनी विदेश मन्त्री सोग्त्बातर दमडिन र अन्य सरकारी अधिकारीसहित बिहीबार बिहान बेइजिङ पुगेका थिए।

त्यहाँ रहँदा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि केकियाङसँग समेत भेटेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

कोरोना भाइरसले करीव ३ हजारको ज्यान लिइसकेको छ । यो रोगको संक्रमण ५० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।