मकवानपुरका विद्यालय आजबाट खुल्ने

हेटौडा । पछिल्लो चार महिनादेखि बन्द मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय लिएको हो । जिल्लाको १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउने भएका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउने गरि शैक्षिक संस्था खोल्ने निर्णय भएको हो ।

वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो । यसबीचमा वैकल्पिक माध्यमबाट अध्ययन, अध्यापन भने भइरहेको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको हो ।