मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलाई उदृत गर्दै सञ्चारमाधयमले जनाएका छन् ।

एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाण्डौबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीको भनाई छ ।