मङ्कीपक्स आशङ्का गरिएका व्यक्तिमा कुष्टरोग पुष्टी भएपछि…

काठमाडौं । काठमाडौंको टेकु अस्पतालमा भर्ना भएका एक पुरुषमा मङ्कीपक्स नभएको पुष्टि भएको छ । बिहीवार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्कीपक्स भएको आशङ्कामा भर्ना गरिएका ती पुरुषमा मङ्कीपक्स पुष्टि नभएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी गराए । हिजो र आज शुक्रवार प्रयोगशाला परीक्षण टोलीले गरेको अनुसन्धानबाट मङ्कीपक्स नभएको पुष्टि गरिएको छ । प्रयोगशालाको विज्ञ टोलीबाट जाँचका क्रममा विभिन्न ६ ठाउँबाट जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठ रोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका पुरुषलाई विमानस्थालको हेल्थ डेक्सले मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकु अस्पताल पठाएको थियो । मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर देखिन्छ । सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउने अरूमा पनि यो भाइरस सर्न सक्छ । अहिले विश्वभर एक हजार ६ सय जनाभन्दा धेरै जनामा मङ्कीपक्स रोग पुष्टि भएको छ । नेपालसहित दक्षिण एसियाका कुनै पनि देशमा अहिलेसम्म मङ्कीपक्सबारे पुष्टि भएको छैन ।