मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान, १३ फागुन (रासस–एएफपी) । इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ । दुर्घटनामा पाइलट, सह–पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनिसहर सहरमा भएको पुष्टि गरिएको छ ।

लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् । यस अघि पश्चिमी हामेदान प्रान्तमा प्रशिक्षण अभ्यासको क्रममा बिहीबार, एक इरानी लडाकू जेट दुर्घटना ग्रस्त हुदाँ दुई जना पायलटहरू मध्ये एकको मृत्यु भएको इरानी मिडियाले जनाएका छन् ।