मध्य पहाडी राजमार्ग केन्द्रित अभियानमा लाग्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्दैछ। ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अभियानमा पदयात्रा, साना–ठूला सभा, उद्योगी, व्यवसायी, बुद्धिजीवीहरूसँग अन्तरक्रियालगायत १२–१५ प्रकारका गतिविधि गर्ने योजना रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।


ज्ञवालीले पहाडी क्षेत्रलगायत देशका विभिन्न भूभागमा पछिल्लो समय एउटा विरोधाभाष देखिएको बताए। त्यसलाई अन्त्य गर्न पनि अभियानको जरूरी भएको उनले औंल्याए। ‘के देखिएको छ भने पहाडी क्षेत्रमा विकास र पूर्वाधारहरू पर्याप्त पुगेका छन्। तर, विकास गाउँतिर पस्ने, पहाडतिर पस्ने, नागरिकहरू तराई, सहर, अझ पछिल्लो समय त विदेशतिर बसाइसराइ गर्ने जुन एउटा विरोधाभाष छ, त्यसलाई अन्त्य गर्न जरूरी छ,’ उनले भने।


‘पहाड समृद्ध नहुञ्जेलसम्म राष्ट्र समृद्ध हुन सक्दैन, विकासका समस्याहरूको पहिचान गर्दै, पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुनेछ,’ उनले भने। अभियानको ध्येय सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने रहेको उनले बताए।


त्यस्तै, एमालेले २०८० साललाई कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा हीरक जयन्तीका रूपमा मनाउँदै छ। अभियानका माध्यमबाट कम्युनिस्ट पार्टी स्थापनायता गरेका कामहरूका बारेमा नागरिकलाई सुसूचित गरिने उनले बताए।

‘यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष हो। पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्षमा पुगेको छ र पुष्पलालको नाममा निर्मित राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा हाम्रो इतिहासलाई पनि जोड्न चाहेका छौं। गएको ७५ वर्षमा हामीले केके काम गर्‍यौं ? ती कामको बारेमा हामी सन्देश दिन चाहन्छौं,’ उनले भने।