काठमाडौं । मुलुकमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ।
त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने जानकारी गराएको छ।
भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।