मनसुन पाँच प्रदेशमा फैलियो, कस्तो रहनेछ मौसम ?

काठमाडौं । मनसुन भित्रिएको आधा महिना बितिसक्दा पनि देशभर फैलिएको छैन। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म मनसुनको प्रभाव पाँच प्रदेशमा छ। कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनकी पूर्वी भूभागसम्म फैलिएको छ। अन्य भूभागमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको शनिबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ। महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू(भागका एक-दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।


आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति पनि मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।