गोरखा । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडेली आरोहीको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी गराएको छ । चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएका थिए ।
उनको उचाई सम्बन्धी समस्याका कारण ज्यान गएको अनुमान गरिएको छ । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । बुधवार बिहान कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । यो सिजनमा मनास्लु हिमाल आरोहणमा आरोहीको भीड लागेको छ ।