काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् ।
मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई घर, बस्तीलगायतको अन्य संरचनामा समेत क्षति पुर्याउँदै आएको छ । यसबाट मानवीय क्षतिसमेत हुनसक्ने भएकाले सचेतना अपनाउन सम्पूर्ण नगरवासीहरुमा अनुरोध गर्दछौं ।’’
यसरी अपील गर्ने नगरप्रमुखत्रयमा सुरेन्द्र श्रेष्ठ, जीवन खत्री र उपेन्द्र कार्की छन् । अपीलमा हाल अल्पकालीन रुपमा खोलाको कटानलाई नियन्त्रण गरी धन जनको क्षति हुन नदिन खोलाको वहावलाई सामान्य अवस्थामा ल्याउन प्रयास भइरहेको उल्लेख छ ।