मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको नाम टुंगो लगाउने छन् ।

दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि ती नाम राष्ट्रपति कार्यालय पठाइनेछ। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले ८ मन्त्रीसहित शपथ लिएका थिए। मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका छन् ।