मन्त्री दाहाल मनिला प्रस्थान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल ‘वातावरणीय दिगो यातायात सम्वन्धि १६ औं उच्च स्तरीय एशियाली क्षेत्रीय सम्मेलन’मा सहभागीताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । उनि शनिबार (आज) राती ९ बजे त्यस तर्फ लागेका हुन् ।


दिगो विकासको लक्ष्यका लागि सहरी गतिशिलता, कार्वन उत्सर्जननमा न्युनिकरण एवम् पर्यावरणमैत्री सहरहरुको विकास र सशक्तिकरण लगायतका सम्वन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाईएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधीहरुले आआफ्नो देशमा भई रहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरुका बारेमा धारणा राख्ने र विभिन्न शत्रहरुमा सम्वन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुती एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषण सम्वन्धि लक्ष्यमा केन्द्रित रहने शत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्यतालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उहाँका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी छन् ।


कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी छन् ।

कार्यक्रम संयुक्त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसंघ क्षेत्रीय विकास केन्द्र, एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक लगायतका निकायहरुको आयोजनामा हुन लागेको हो ।


मंशिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कने छ । मन्त्री दाहाललाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतले विमानस्थलको विशिष्ट कक्षबाट बिदाई गरे ।