काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन् । अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने उनको भनाई छ ।
‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं भन्ने कुरा केन्द्रीय कमिटीको बैठकमा भएको समेत उनले जानकारी गराए ।