मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो पटक डेब्यु गरेका नविन गुरुङले प्रहार गरेको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाएका थिए ।

सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिए । सो गोल लगत्तै मरिससले बराबरी गर्ने अवसर पायो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले् पेनाल्टी पायो । पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । म्यान अफ दि म्याच चेम्जोङ बने ।


शनिबार मरिससविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टिमबाट नेपाली टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । पहिलो खेल खेलेका कप्तान किरणसहित दिनेश राजवंशी, देवेन्द्र तामाङ, तेज तामाङ, अन्जन विष्टले भने दुवै खेलमा पहिलो रोजाईमा खेले । दोस्रो हाफ तनावपूर्ण बन्यो । ७१औं मिनेटमा मैदानमा खेलाडीबीच हात हालाहाल भयो । मरिससका एड्रिएन बट्लर र नेपालका पुजन उपरकोटीले रातो कार्ड पाए । ८०औं मिनेटमा मरिससका एमानुएल फुलचन्दले पनि रातो कार्ड पाए ।