मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा सात जनाको मृत्यु

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार बुटवलबाट रिडीका लागि छुटेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । शव बोकेको यो बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा सडकबाट ६० मिटर तल खसेको छ । बुटवलमा निधन भएका वीरबहादुर विश्वकर्माको शव बोकेको यो बस शवको अन्त्येष्टीका लागि रिडी जाँदै थियो ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनारको ज्यान गएको छ । रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर रानाको समेत दुर्घटनामा ज्यान गएको छ ।

दुर्घटनाका घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार जारी छ । ओरालो र घुम्ती सडकमा बस दुर्घटनामा परेको छ । सडक चिप्लो रहेको र तीव्र गतिका कारण नियन्त्रण गुमाएको अनुमान प्रहरीले गरेको छ ।