क्वालालाम्पुर । मलेसियाले आफ्नो मुलुकमा विदेशीको प्रवेश रोकेको छ । साथै मलेसियाका नागरिक पनि अब विदेश भ्रमणमा जान पाउनै छैनन् ।
मलेसियाले कम्तिमा दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले लागु गरेको यो नीति बुधबारबाट लागू हुने भएको छ ।
प्रधानमन्त्री मुहिदिन यासिनका अनुसार यो नीति मार्च ३१ सम्म कायम रहने छ । मलेसियाको यो नीतिसँगै नेपालीको प्रवेश समेत रोकिएको छ ।
त्यसो त नेपाल आफैले नयाँ कामदार पठाउन रोक लगाइसकेको छ । श्रम स्वीकृति बन्द भएको छ । मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ।
शैक्षिक संस्था समेत बन्द गरिएको छ । यस देशमा सोमबार साँझसम्म ५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।