महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसले शक्ति प्रदर्शन नगर्ने भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो जानकारी गराएका हुन् । मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने उनको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताए । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने समेत जानकारी दिए । उनले सञ्चारकर्मीसँग सहयोगको आह्वान समेत गरे । आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाई छ । उनले सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको बताए ।