महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको छ ।

साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएको थियो । विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ। आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।

तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ। राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ।