काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने ।
युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे । भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।