काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा होमिने निश्चित भएको छ ।
सोही चालबाजी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको जानकारी आज राष्ट्रपतिलाई गराएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न दलहरुलाई समय दिएको उल्लेख छ । अब विपक्षी गठबन्धनले आज रातभर र शुक्रबार दिनभरमा बहुमत देखाएर सरकारको दावि गर्न नसके प्रतिनिधिसभा संवैधानिक रुपमा भंग हुन्छ । त्यसपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणा हुन्छ ।
प्रधानमन्त्री ओली यही चाहन्छन् । उनको चाहना अनुसार मुलुकलाई राजनीतिक खेलबाट बचाउने हो भने अहिले निर्णायक मत बोकेको माधव नेपाल समुहका सांसदले राजिनामा गरि विपक्षी दलको बहुमत पुर्याउन सहयोग गर्नुपर्छ । त्यसो हुन नसके मुलुक महामारीका बीच निर्वाचनमा जाने छ । यसले थप जटिलता ल्याउने छ । जनस्वास्थ्य पुनः एक पटक ओझेलमा पर्नेछ ।