बेलायतमा ७० वर्ष भन्दा लामो समय शासन गरेर इतिहास कायम गर्न सफल महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । सन् १९५२ मा गद्दी सम्हालेकी उनले त्यसयता १५ जना प्रधानमन्त्रीसँगकाम गरिन् । उनी बाल्मोरलमा रहेका बेला परिवारका सदस्यका बीचमै उनको निधन भएको छ । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ । उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ ।
त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ । एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान छापको झन्डा ओढाइन्छ भने राजदण्डलाई पनि शवसँगै राखिने छ । सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने छ, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । सन् २००२ मा रानी एलिजावेथ द्धितीयकी आमाको शव पनि यहीँ राखिएको थियो र २ लाख भन्दा बढी सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए ।
महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह पनि भएको थियो । समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिने छ ।
समाधि समारोहमा नयाँ राजासहित राजपरिवारका सदस्य सामेल हुने छन् भने प्रधानमन्त्री लिज ट्रसले शोक मन्तव्य दिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् । शवलाई पदयात्रामार्फत वेस्टमिन्स्टर एबीबाट वेलिङ्टन आर्क लगिनेछ र शवलाई शववाहनमा राखिने छ । शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ त्यहाँ अन्तिम प्रार्थना सभा हुनेछ । त्यहाँ रोयल भल्टमा उनको शव समाधिस्थ गरिनेछ ।