‘मही’ प्रोत्साहन गर्न व्यवसायिक सम्झौता, रैथाने हाटबजारमा निःशुल्क राखिने

काठमाडौं । रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

एसोसिएसनले प्रत्येक शनिबार दरबारमार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रीवितरणका लागि आयोजना गरिएको हाटबजारमा प्रत्यक्ष ठेकीमा मही निःशुल्क खुवाउने छ । यो अभियानले युवा पुस्तामा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको एसोसिएसनका अध्यक्ष दाहालले बताए । अब प्रत्येक हप्ता लाग्ने हाटबजारमा बिहान ६ बाट बिहान १२ भित्र सबै जना उपस्थित भई रैथाने कृषि सामग्री अवलोकन गर्ने कार्यक्रम हुँदै आएको छ ।

एसोसिएसनले आफैँ सुरुवात गरेको यो अभियान ठुलो अभियानकर्ता रैथानेसँग जोडिएर गर्न लागेकाले यसले थप प्रोत्साहन प्राप्त हुने उनले बताए । रैथाने एग्रोका अध्यक्ष ढकालले यो सम्झौताले रैथाने बाली र खाद्यान्नमा विकास हुने बताए । उनले आफ्ना सन्ततिले अब रैथाने किसिमका उत्पादन र संस्कृति बिर्संदै आएकाले यसको जगेर्नाका लागि अहोरात्र खटिएको बताए ।