काठमाडौं । महोत्तरीमा चिसोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन जनाको निधन भएको हो । बीस दिनको अवधिमा रामरती सदाका घरमा बुहारी, नाति र एक नवजात नातिनीको मृत्यु भएको छ ।
बिहीबार पत्रकारको एक समूह मुसहरको एकीकृत बस्तीमा पुगेपछि यसबारे खुलेको राससले उल्लेख गरेको छ । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा (सिरक, डसना) तथा तातो खानेकुरा नभएपछि पुस ९ मा रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसोले सताएको थियो ।
त्यसपछि अत्यधिक रक्तश्राव भएको उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो। उनी बिरामी भएकै अवस्थामा छोरी जन्माएकी थिइन्। केहीबेरको अस्पताल बसाइपछि उनको मृत्यु भएको परिवारले जनाएको छ । नवजात शिशुको समेत जन्मेको ६ घण्टामै मृत्यु भएको छ ।
एकसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो। गत मङ्गलबार १३ औं दिनका पुण्यतिथिका दिन उनका अर्का आठ महिने नाति (हरिनारायण सदाका माहिला छोरा) आठमहिने प्रभासको समेत चिसोकै कारण मृत्यु भएको छ । यस बस्तीमा ३५० परिवार दलित मुसहर रहेका छन् ।