महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते दुबैजनालाई बर्दिबासको शुभस्वस्तिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी गिरीले बताए । दुर्घटनामा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय विरेन्द्र गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन् । उनीहरुको उपचार जारी छ ।