महोत्तरीमा ६ वर्षिय बालिकाको हत्यापछि तनाव, प्रहरीको गोली लागेका एक जनाको मृत्यु

बर्दिबासमा सडक अवरुद्ध गरी मंगलबार भएको प्रदर्शन

बर्दिबास । महोत्तरीमा सोमबार ६ वर्षिय बालिकाको हत्या भएको अवस्थामा शव फेला पर्यो । यस घटनापछि मंगलबार दिनभर महोत्तरीको बर्दिबास दिनभर तनावग्रस्त रह्यो । स्थानीयले हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहको घरमा आगजनी गरे ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाए । उक्त अवरोध हटाउने क्रममा प्रहरीले चलाएको गोली लागेर केही व्यक्ति घाइते भएका थिए । उनीहरुमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई उदृत गर्दै नेपाली संचरमाध्यमले लेखेका छन् । उनको दुवै तीघ्रामा गोली लागेको थियो । गम्भीर घाइते उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्या भएपछि स्थानीय आक्रोसित बनेका छन् । मंगलबार स्थानीयले टायर बाल्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा सडक अवरुद्ध गरेपछि प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको हो ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको हो । उनी आइतबार साँझबाट वेपत्ता थिइन् । बालिकाको आफुले हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेका उनले परिवारलाई उक्त कुरा बताएका थिए । त्यसपछि परिवारले नै प्रहरीलाई खबर गरेको थियो । बालिकाको बलात्कारपछि हत्या भएको आशंका छ । यद्दपी पोष्टमार्टम रिर्पोट नआएका कारण हत्याको कारण नखुलेको प्रहरीको भनाई छ ।