काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन् ।
बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक गर्नुपर्ने मागसहित नेपालगन्जबाट काठमाडौं आएका महिला अधिकारकर्मीले माइतीघरमा चरणबद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले बाँकेकै नकुन्नी धोबीको मृत्यु प्रकरणको छानबिन र दोषीमाथि कारबाहीको माग पनि गरेका छन् ।
गृहमन्त्री लामिछानेले उनीहरूलाई धर्ना छोडेर घटनाको अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको विशेष टोलीले छानबिन गरिरहेको जानकारी गराए । उनले गत सोमवार सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।
गृहमन्त्री लामिछानेसँगको भेटमा अधिकारकर्मी रुवी खानले यो सरकारबाट न्याय पाउनेमा आफूहरू आशावादी रहेको तर न्याय नपाउञ्जेल धर्ना नछाड्ने बताए ।