काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएसँगै आयोगले उनीहरुको पद खारेज गरिदिएको हो ।
निर्वाचन आयोगका अनुसार रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह माओवादी छाडेर एमालेमा गएसँगै उनको समेत सांसद पद खारेज भएको छ । सरकारबाट समेत प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएपछि उनी अहिले मन्त्री पनि छैनन् ।
रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद समेत गएको छ । महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको छ ।