माओवादी अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाने भएका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत जान लागेका हुन् । प्रचण्ड दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नेछन् । डेढ महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतकोतर्फबाट निम्तो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार त्यसक्रममा प्रचण्डले जुलाइको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए पनि भाजपाका अध्यक्ष जगतप्रकाश नड्डाले नै निम्तो दिएपछि औपचारिकरुपमा भ्रमण तय भएको थियो । प्रचण्डको भारत भ्रमणबारे बिहीबार बसेको माओवादीको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो । उनी साउन १ मा स्वदेश फर्कनेछन् ।