काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम प्रस्थान गरेका छन् । उपमहासचिव वर्षमान पुनसँगै उनी सोमबार सैनिक हेलिकप्टरमार्फत् त्यसतर्फ लागेका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ । आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जाने कार्यक्रम छ ।
आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्नेछन् । हाल आठराई गाउँपालिका ३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् । सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम छ ।