माओवादी केन्द्रका सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना सबै कमिटिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी अन्तरिम विधान पास गरेको छ । जसअनुसार केन्द्रीय समितिदेखि मातहतका सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरएको छ । यो नियम तत्काल लागु हुने गरी ल्याइएको हो ।

यसअघि सत्तारुढ नेकपा एमालेको कमिटिमा महिला एक जना पनि नपरेपछि आलोचना भइरहेको छ । माओवादी केन्द्रले भने पार्टीका सबै समितिमा ४० वर्षसम्मका युवा कम्तीमा २० प्रतिशत हुने गरी विधानमा संशोधन गरेको छ ।

दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने समेत उल्लेख छ । केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्नेछ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।