माओवादी केन्द्रको आगामी महाधिवेशन मंसिर २०८२ मा तोकियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्नेबारे दुई धार देखिएको थियो । बैठकमा सहभागी नेताहरूमध्ये केहीले तत्काल विशेष महाधिवेशनमा जानुपर्ने मत राखेका थिए भने केहीले सुरुमा अभियानमा जाने, त्यसपछि मात्रै महाधिवेशनको मिति तय गर्ने मत राखेका थिए ।

यद्यपि, अध्यक्ष प्रचण्डले यसलाई ६ महिना अभियान र त्यसपछि अधिवेशन भन्दै घुमाउरो शैलीबाट हलमा नेताहरूलाई कन्भिन्स गराएका थिए । बैठकले पहिला ६ महिने अभियानमा जाने र त्यसको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय नै गरेको छ ।

६ महिने अभियानपछि आगामी असारमा केन्द्रीय समिति समिति बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् । प्रचण्ड निकटका नेताहरूले नियमित अधिवेशनको पक्षमा धारणा राखेका थिए भने उपमहासचिव जनार्दन शर्मा निकट नेताहरूले विशेष महाधिवेशनको माग चर्को रुपमा उठाएका थिए । अहिलेकै बैठकले विशेष महाधिवेशनको मिति तोक्नुपर्ने शर्मा निकट नेताहरूले बताएका थिए ।


अर्का उपमहासचिव वर्षमान पुन अनन्तले पनि विशेष महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए । तर, उनले अहिले नै मिति तोक्नुपर्ने भने केन्द्रीय समितिमा बताएनन् ।