काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपाको हैसियतमा बहुमत सदस्यबाट प्रधानमन्त्रीमा निर्वाचित बनेका केपी शर्मा ओलीलाई समर्थन फिर्ता गर्ने निर्णय मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गरेको हो ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको हो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने गरी संसद अधिवेशन बोलाएका छन् ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र बुधबार प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी गरेको छ । स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।
स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले प्रदेश सरकार बनाउनु लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा भएको ठहर समेत गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकोमा संविधानको भावना, लोकतान्त्रिक मुल्य, मान्यताको विरुद्ध, स्वेच्छाचारी निरंकुश प्रवृत्तिको नकारात्मक अभिव्यक्ति ठानि बिरोध गरेको पनि श्रेष्ठले जानकारी दिए ।