माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ। अध्यक्ष प्रचण्डले ती दुई प्रतिवेदनलाई एउटै प्रतिवेदनका रूपमा पेस गर्ने महासचिव गुरूङले जानकारी दिए।

स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने उनले बताए। यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएपछि त्यसबारेमा पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।

माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।