काठमाडौं । माओवादी छाडेर एमाले छिरेका प्रभावशाली नेता प्रभु साह एमालेबाट समेत अलग भएका छन् । उनले एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेको विरोधमा साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को टिकट पाएका साहले एमाले अपवित्र भएको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले एमाले सत्ताका लागि मात्र राजनीति गर्ने पार्टी भएको समेत बताएका छन् । जसपामाथि विभिन्न आरोप लगाउँदै साहले एमाले नेतृत्वले गठबन्धन गरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं ।’
कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ नभएको उनको भनाई छ । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।