काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग उठेको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्याङ्कन नभएको भन्दै गुनासो समेत बैठकमा भएको छ । ‘कामको सही मूल्याङ्कन गर्न, दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मूलभूत पक्षको सबैबाट समर्थन गर्दै यसलाई कार्यान्वयनमा कडाइ गर्न जोड दिएका छन् । नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् । केही सदस्यले पार्टीको महाधिवेशन तालिका ल्याउन आग्रहसमेत गरेका छन् ।

दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् । स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीको पक्षमा माहोल बनेकोमा बेला सङ्गठन पार्टीभित्र कुनै विवाद र बहसमा अल्झिन आवश्यक नभएको बैठकमा बोल्ने केही नेताको भनाइ छ भने केहीले महाधिवशेनबाट पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।