काठमाडौं । पुष्पकमल दाहाल सरकारमा छँदाका सत्ता सहयात्री दल माओवादी, रास्वपा र एकीकृत समाजवादी अहिले संसदमा विपक्षी भूमिका निर्वाह गर्ने भएका छन् । दाहाल सरकारले अघि सारेका सुशासन, समृद्धि, सामाजिक न्यायका मुद्दालाई लिएर उनीहरू विपक्षी मोर्चाबाटै एक भएर उभिने निर्णय गरेका हुन् ।
संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता गठबन्धन बनेपछि यी साना तीन दलले संसदबाट एक भएर सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतको विपक्षमा उभिने भएका छन् ।
यी तीन दलले आइतबार आ–आफ्ना संसदीय दलको बैठक गरी विश्वासको मतको विपक्षमा उभिन आ–आफ्ना सांसदलाई ह्वीप जारी गर्ने तयारीमा छन् । गत असार २८ मा पनि निवर्तमान प्रधानमन्त्री दाहाललाई यिनै माओवादीका ३२, रास्वपाका २१ र एसका १० सांसदको मात्र विश्वासको मत प्राप्त भएको थियो । विश्वासको मत पाउन नसकेपछि स्वतः पदमुक्त भएका दाहालले संसदमा विपक्ष र सडकमा समाजवादी मोर्चा बनाएर ओली सरकारविरुद्ध साझा मञ्च बनाउन खोजेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबार बसेको बैठकले ओलीले आइतबार संसदमा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमाले–कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि निर्देशन समितिको बैठकले विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको उल्लेख छ । राप्रपाले यसअघि भने कांग्रेस–एमाले गठबन्धनलाई सकारात्मक रूपमा लिँदै उक्त सहकार्यको स्वागत गरेको थियो । तर अब भने त्यसो गर्न नसकिने राप्रपा निर्देशन समितिले निष्कर्ष निकालेको हो ।