काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो । सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९–८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।
यसपालि युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ । साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।
माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।