मातृभूमी नर्बिसन राष्ट्रपतिको आह्वान

काठमाडौं । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले मातृभूमी नर्बिसन आह्वान गरेका छन् । जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु, राष्ट्रपति पौडेलले भने ।

उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे । उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वको साझा चुनौति रहेको बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जोड दिए ।


सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए । सो अवसरमा राजदूत खड्काले जर्मन नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराए । सो अवसरमा जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।