काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको पुष्टी भएपछि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने आदेश गरिएको हो ।
स्थानीय संचारमाध्यमले जनाए अनुसार जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था भने छ । घटना २५ असोजमा भएको हो । मादक पदार्थ सेवन गरेर ब्यारेकबाट निस्किएका शाहीले कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरि धम्क्याएका थिए । होटेल बन्द भएपछि पुगेका उनलाई होटेल छिर्न नदिएपछि ब्यारेक फर्किएर निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएपछि स्थानीयसँग उनको लफडा शुरु भएको थियो । आक्रोशित भिडले उनी चढेको गाडीमा तोडफोड गरेको थियो ।