काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई)बाट ३०३ जना भारतीय यात्रुहरूलाई लिएर उडेको एउटा विमानलाई शुक्रवार फ्रान्समा अवतरण गराइएको छ। सो विमान निकारागुआतर्फ गइरहेको थियो। फ्रान्सका सञ्चारमाध्यमहरूले उक्त विमानको प्रयोग मानव तस्करीका लागि भएको हुनसक्ने भन्दै त्यही कारणले त्यसलाई रोकिएको जनाएका छन्। फ्रान्समा एक जना वकिलले उक्त एअरबस ए३४० दुबईबाट निकारागुआको राजधानी मानागुआगा गइरहेको थियो।
तर गोप्य सूचना पाएपछि त्यसलाई फ्रान्सको राजधानी प्यारिसबाट १५० किलोमिटर पर रहेको भ्याट्खी विमानस्थलमा अवतरण गराइएको जनाएका छन्। सुरक्षा अधिकारीहरूले विमानमा सवार केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएका छन्। त्यसपछि विमानस्थललाई बन्द गरिएको छ । उक्त विषयमा अनुसन्धान थालिएको छ र उक्त विमानलाई सो मध्य अमेरिकी देश किन लैजान खोजिएको थियो भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ।
फ्रान्सस्थित भारतीय राजदूतावासले यस मामिलालाई पुष्टि गर्दै फ्रान्सका अधिकारीहरूले आफूलाई त्यसबारे जानकारी दिएको जनाएका छन्।
दूतावासले भनेको छ, “दुबईबाट निकारागुआ गइरहेको विमानमा अधिकांश भारतीय मूलका नागरिक थिए। त्यसलाई मार्न क्षेत्रको भ्याट्खी विमानस्थलमा ‘टेकनिक्ल हल्ट’ भन्दै रोकिएको छ। दूतावासको टोली त्यहाँ पुगेको छ र उनीहरूलाई कन्सुलरसँगको पहुँच उपलब्ध गराइएको छ। दूतावासले पनि यस मामिलाको जाँच गरिरहेको छ।”
उक्त विमान रुमेनियाको चार्टर कम्पनी लिजेन्ड एअरलाइन्सको स्वामित्वमा थियो। कम्पनीका वकिल लिलियाना बाकायोकोले फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीलाई फ्रान्सका अधिकारीहरूलाई अनुसन्धानमा सघाउन तयार रहेको जनाएकी छन्। उनले उक्त विमान केही दिनभित्रै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने अपेक्षा पनि गरेकी छन्। उक्त यात्राको उद्देश्य र सर्तहरूबारे अनुसन्धान थालिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। उनीहरूले कतिपय यात्रुहरू गैरकानुनी आप्रवासी भएको हुनसक्ने जनाएका छन्।
फ्रान्सको अखबार ‘लु मोन्ड’ का अनुसार देशको सङ्गठित अपराधविरोधी राष्ट्रिय निकाय जुनालले अनुसन्धानमा आफ्नो अग्रसरता लिएको छ। विशेष जाँच दलका अधिकारीहरूले विमानमा सवार सबै यात्रुहरूलाई सोधपुछ गर्ने काम थालेका छन्। दुई जना यात्रुलाई हिरासतमा लिइएको छ। अहिलेसम्म जाँच पूरा भइसकेको छैन।
फ्रान्सका अधिकारीहरूले विमान अवतरण भएपछि सुरुमा यात्रुहरूलाई विमानमा नै बसिरहन भनिएको जनाएका छन्। तर पछि शुक्रवार रात त्यहाँ बस्ने प्रबन्ध मिलाउन भ्याट्खी विमानस्थलको आगमन कक्षलाई सुत्ने स्थानका रूपमा परिणत गरिएको थियो। प्रहरीले पुरै विमानस्थललाई घेराबन्दी गरेको छ।
फ्रान्सका अभियोजनकर्ताको कार्यालयले उक्त विमानमा सवार केही व्यक्तिहरू मानव तस्करीको सिकार हुनसक्ने गुप्तचरी जानकारी प्राप्त भएको जनाएको थियो। हालैका महिनाहरूमा युरोप र अमेरिकाले आफ्नो आप्रवासन सम्बन्धी नियमहरूमा कडाइ गरेका छन्। युक्रेनमाथि रुसको आक्रमण, इजरेल र हमासबीचको युद्ध र कैयौँ अफ्रिकी देशहरूमा जारी गृहयुद्धका कारण गैरकानुनी माध्यमबाट अमेरिका र युरोप जाने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ।
बीबीसी