काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो ।
खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जनाएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले बताए ।
यसअघि उक्त होटलबाटै २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरुले सञ्चालन गरेको गेस्टहाउसबाट ६ जना बालिकाको उद्दार समेत गरिएको प्रहरीले बताएको छ ।