काठमाडौं । द्वन्द्वग्रस्त अफ्रिकी मालीमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन बन्द भएसँगै त्यहाँ रहेको नेपाली सेना फिर्ता भएको छ । मिसनमा रहेका ५९ जना सैनिकहरू सोमबार संयुक्त राष्ट्रसंघको चार्टड विमानमा नेपाल फर्किएको नेपाली सेनाले जनाएको छ । राष्ट्रसंघले मिसन बन्द गरेसँगै त्यहाँ कार्यरत १५६ जना स्टाफ अधिकृत र १२ जना सैनिक पर्यवेक्षक गरी १६८ जना सैनिक नेपाल फर्किएका हुन् । त्यसमध्ये ९३ जना यसअघि नै स्वदेश आइसकेका थिए ।
नेपाली सेनाका अनुसार बाँकी १६ जना केही समयपछि नेपाल आउनेछन् ।माली सरकारको निरन्तर दबाबपछि उक्त मिसन बन्द गर्ने निर्णय राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको थियो। मालीको सेनासँग राष्ट्रसंघको सम्बन्ध सुमधुर हुन नसकेपछि सुरक्षाको दृष्टिकोणले उक्त मिसन सबैभन्दा जोखिमपूर्ण मानिएको थियो। सन् २०१३ मा उत्तरी मालीमा हिंसात्मक संघर्ष सुरु भएपछि राष्ट्रसंघीय शान्ति मिसन स्थापना भएको थियो।