माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

File Image Source : AP/ REPRESENTATIONAL

काठमाडौं । माल्टामा आप्रवासी बोकेको डुंगा पल्टिएर भएको दुर्घटनामा कैयौं मानिसको ज्यान गएको छ । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको पुष्टी भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ जना घाइते भएका छन् । माल्टाको सशस्त्र बल (एएफएम)ले यसको पुष्टी गरेको हो ।

करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुंगामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुंगा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुंगा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी रहेको बताइएको छ ।