मुम्बईमा एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण

मुम्बई । भारतको मुम्बई एयरर्पोटमा एक एयर एम्बुलेन्सको पांग्रा भाच्चिएपछि आकस्मिक अवतरण गराउनु परेको छ । बिरामी बोकेर नागपुरबाट उडेको जहाजको पाङ्ग्रा भाच्चिएसँगै विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गराउनु परेको हो । भारतीय संचारमाध्यमका अनुसार यो जहाजमा दुई क्रू मेम्बर, एक बिरामी, बिरामीका एक आफन्त र एक डाक्टर सवार थिए ।


जहाज नागपुरबाट हैदरावादका लागि उडेको थियो । उडानकै दौरान जहाजमा समस्या आएको पत्ता पाएका पाइलटले मूम्बईमा आकस्मिक अवतरणको अनुमति मागेका थिए । उनले फूल इमरजेन्सी घोषणा गरेसँगै विमानस्थल खाली गराइएको थियो । भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ओरालियो ।

पांग्राले काम नगरेको वा भाच्चिएको अवस्थामा धावनमार्गमा फोम बिच्छाउने गरिन्छ । दमकल, एम्बुलेन्स तयारी अवस्थामा राखिन्छ भने उद्धारकर्मीलाई समेत एलर्ट राखिएको हुन्छ । अवतरणका क्रममा कुनै अप्रिय घटना भएको भएन ।

उता, बिहीबार नै रेम्डिसिभिर औषधि बोकेको मध्यप्रदेश सरकारको एक विमान ग्वालियर एयरपोर्टमा दुर्घटनामा परेको छ । जहाँ दुई पालटसहित तीनजना घाइते भएको संचारमाध्यमले जनाएका छन् । विमानस्थलको धावनमार्गमा जहाज चिप्लिएको बताइएको छ ।