काठमाडौं । सोमबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।